जनकपुर ।
महोत्तरीको एक गाउँपालिकामा निर्वाचन सकिएको चार वर्षपछि पुनः मतगणना गरिएको छ । मनरा सिस्वा नगरपालिका– १० मा पुनः मतगणना गरिएको हो ।
स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि आज फेरी मतगणना भइरहेको छ । वडामा दुइ उम्मेदवारले बराबर मत ल्याएका थिए । दुई उम्मेदवारमध्ये गोलाप्राथाबाट अध्यक्ष हुन नपाएका स्वतन्त्र उम्मेदवार रमेशकुमार रायले धाँधली भएको भन्दै अदालतमा हालेको मुद्दाको फैसलाअनुसार फेरि मतगणना भएको हो ।
उच्च अदालत जनकपुरले ०७५ असार २१ गते नै १५ गतेभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध गोलाप्रथाबाट विजयी चौधरी सर्वोच्च अदालत पुगे ।
२०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण कुमार चौधरी र स्वतन्त्र उम्मेदवार रमेशकुमार रायको समान २६७ मत आएको थियो ।
समान मत आएपछि गोलाप्रथाबाट परिणाम टुङ्गो लगाउने सहमति अनुसार कांग्रेसका उम्मेदवार चौधरी निर्वाचित भए । पराजित स्वतन्त्र उम्मेदवार रायले धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । आज बेलुका मतगणनाको परिणाम आउने बताइएको छ ।