बागलुङ/बेनी : १ घण्टाको पैदलयात्रा ४ मिनेटमा छोेटिदैँ

केन्द्रभाग मिडिया

बलेवा ।

बागलुङदेखि म्याग्दीको बेनी सम्मको १ घण्टाको पैदलयात्रा ४ मिनेटमा छोटिने भएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल बन्न लागेसँगै यात्रा छोटिने भएको हो । पुल नहुदाँ दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा समस्या साथै समयको खर्च हुने गरेको थियो । पुल बन्ने भएसगैँ सर्वसाधरण यात्रुलाई सहज हुने भएको छ ।

चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनौट गरी सस्पेन्सन ब्रिज डिभिजनले २ जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३ सय ८८ मिटर लामो र १ सय मिटर अग्लो पुल निर्माण थालेको हो । पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ । ३ करोडको लागतमा उक्त पुल निर्माण हुने भएको हो ।

असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महिनामै पुल तयार गर्नुपर्नेछ । ‘पहिलोचरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरु हुन्छ’, कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौँ ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउनका लागि पुल महत्वपूर्ण हुने बागलुङ नगरपालिका– ४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए ।

  • ७ कार्तिक २०७८, आईतवार १५:४६ प्रकाशित