काठमाडौं ।
आगामी नोभेम्बरदेखि अस्ट्रेलियामा अभिभावक जान पाउने भएका छन् । कोभिड संक्रमणका कारण लामो समयदेखि अभिभावकलाई लैजान रोक लगाएको अस्ट्रेलियाली सरकारले नोभेम्बर १ देखि अभिभावकलाई लैजानको लागि अनुमति दिने भएको हो ।
अस्ट्रेलियाको संघीय गृह मामिला मन्त्री क्यारेन एन्ड्रयुजले शनिबार अस्ट्रेलियालीका अभिभावक अर्थात आमाबाबुलाई यात्रा छुटका लागि नोभेम्बर १ देखि आवेदन खुला भएको जानकारी दिएकी हुन्।
अस्ट्रेलियन सरकारको पछिल्लो निर्णयसँगै, आगामी नोभेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेशका लागि आवेदन दिन अब विदेशी नागरिकता भएका अभिभावक योग्य हुनेछन्।
सरकारी निर्णयसगै यसै हप्तादेखि गृह मामिला मन्त्रालयको ट्राभल एक्जेम्सन पोर्टलमा गएर अभिभावकले यात्रा छुटका लागि दर्खास्त हाल्ने सुविधा उपलब्ध भइसकेको छ।
आवेदन दिँदा अभिभावकले अस्ट्रेलियाको नागरिकता वा पीआर लिएका आफ्ना वयस्क सन्तानसँगको नाता खुल्ने प्रमाण पनि बुझाउनुपर्ने छ।
अस्ट्रेलिया जान चाहने अभिभावकहरूसँग भिसा, पासपोर्ट र मान्यता प्राप्त कोभिड–१९ खोपको दुवै मात्रा लगाइसकेको प्रमाण हुनुपर्नेछ। साथै अस्ट्रेलियाका विभिन्न राज्यका क्वारेन्टिन सम्बन्धी शर्तहरू पनि पालना गर्नुपर्ने हुन्छ।















