जलवायु परिवर्तनः प्रकोपबाट जोगिन नेपाललाई ५० खर्ब बढी चाहिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा पछिल्लो समय भईरहेको बेमौसमी वर्षा, बेमौसमी हिमपातबाट निम्तिएको क्षतिले जलवायु परिवर्तको गतिलै प्रमाण पेस गरेको छ।

कार्तिकमा परेको असामान्य वर्षाले नेपालमा १०० जनाभन्दा धेरैको ज्यान लिइसकेको छ भने अर्बौँ रुपैयाँको क्षति पुगेको छ।धानबालीमा मात्र झन्डै छ अर्ब रुपैयाँको नोक्सानी पुगेको प्रारम्भिक विवरण कृषि मन्त्रालयले दिएको छ।

जलवायु परिवर्तनले निम्त्याएको प्रकोपबाट जोगिन नेपाललाई ५० खर्ब रुपैयाँ भन्दा धेरै लगानी आवश्यक पर्ने बताइएको छ । एक दशकमै यति ठुलो धनराशी नेपालले जुटाउन सके प्रकोपबाट जोगिन सक्ने विज्ञहरुले बताएका हुन् ।

जलवायु परिवर्तनका कारण हुने उथलपुथलबाट जोगिन नेपाललाई यही दशकभित्र थप ४९ अर्ब डलर अर्थात् ५० खर्ब रुपैयाँभन्दा धेरैको बोझ पर्ने सरकारको आँकलन छ।

‘हाम्रो आर्थिक संरचनानै प्रकृतिसँग जोडिएको छ। हामीले राष्ट्रिय अनुकूलन योजना बनायौँ अनि राष्ट्रिय रणनीति बनायौँ। यसमा हाम्रो हिसाब के देखिँदैछ भने सन् २०३० सम्मका निम्ति नै हामीलाई जलवायु परिवर्तनका असरसँग जुझ्न आवश्यक अनुकूलन तथा क्षति न्यूनीकरण गर्न थप ४९ अर्ब अमेरिकी डलर बराबरको लागत चाहिनेछ,’वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए।

त्यति धेरै लागत नेपालले आफैँ जुटाउन नसक्ने भएकाले विकसित देशहरूले सहयोग गर्नुपर्ने अधिकारीहरू बताउँछन् ।काफ्लेले भने,‘तर विकसित देशहरूमा यस्ता हानिनोक्सानीको क्षतिपूर्तिबारे हिच्किचाहट देखिन्छ। त्यसमा उनीहरू उदार हुनुपर्छ भनेर ग्लास्गो सम्मेलनमा पनि हामी हाम्रा कुरा राख्छौँ, ।

जलवायु प्रणालीमा हुने उथलपुथलले नेपालजस्तो देशमा खासगरी वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर झन्‌झन् बढ्ने ठानिन्छ जसले गर्दा खाद्य उत्पादन, पूर्वाधार विकास, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्ने देखिन्छ ।

जलवायु परिवर्तनका भीषण प्रभावहरू आगामी दिनमा पनि निरन्तर र अझ धेरै पर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्।

स्रोत बीबीसी

  • ५ कार्तिक २०७८, शुक्रबार १४:४० प्रकाशित