पोखरा-मुग्लिन सडक चार लेन बन्दै, तनहुँ खण्डका सात हजार रुख काटिने

केन्द्रभाग मिडिया

दमौली ।

पोखरा मुग्लिन सडक खण्ड चार लेनको बन्ने भएको छ । सवारी चाप बढ्दै गएपछि पृथ्वी राजमार्ग अन्र्तगतको पोखरा मुग्लिन सडक खण्ड विस्तार गरि चार लेनको बनाउन लागिएको हो ।

२०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

चार लेनको मुग्लिङ–पोखरा ८० किलोमिटर सडक विस्तारमध्ये हालसम्म तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम शुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम शुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन–पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । सर्भे डिजाइन सकाएर फाइनल गर्ने चरणमा रहेको उनको भनाइ छ । उनका अनुसार ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको छ ।

यसैबीच सडक विस्तारका लागि तनहुँ खण्डका करिब सात हजार रुख काटिने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डलाई विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय ५० रुख काटिने भएको हो ।

तनहुँ खण्डमा रुख काट्नलाई वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार २५० रुख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार १३:३९ प्रकाशित