पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , कास्कीका अध्यक्ष नारायण गुरुङले आउने निर्वाचनमा पार्टी एक नम्बरमा आउने बताएका छन् । शुक्रबार केन्द्रखवरसंगको कुराकानीमा अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । राप्रपाको एजेण्डालाई जनताले मन पराएको कारण पार्टीले आउने चुनाव जित्ने गुरुङको दाबी छ ।
उनले भने, राप्रपा एकढिक्का भएको छ, हिजो टुटफुट थियो, अब राप्रपा जुरुक्कै उठाएर एकनम्बरको पार्टी बनाउने मेरो सोँच छ । हिजोको अवस्थामा एउटा राजा थियो भने आज सयौँ छोटे राजा जन्मे देशमा पुरै बाडेर खाने परिस्थिति भयो, सम्पूर्ण जनताले देखिरहेको छ, उनले भने । हिजको मोमेन्ट र अहिलेको अवस्था फरक छ, जनताले बुझिसकेको छ, हाम्रो एजेण्डा सहि छ, हामीलाई किन नपत्याउने ।
राष्ट्रियताको सवालमा हामी एकदम अगाडी छौँ, अहिले राष्ट्रियताको सवालमा देश एकदम कमजोर भएको छ । देश रहेपो हामी रहने हो । राष्ट्रियताको सवालमा हामी खरो रुपमा गइरहेका छौँ, देश प्रेमी राष्ट्र प्रेमीले हामीलाई खोजि रहेको छ, गुरुङले भने ।
प्रदेश संरचनाले जनतालाई केही दिन नसकेको बताउदै गुरुङले राजनीतिक दलले प्रदेशलाई मागिखाने भाँडो बनाएको आरोप लागाए । हिन्दु राज्य, राजसंस्था र राष्ट्रियताको सवालमा राप्रपाले जोडतोडकासाथ एजेण्डा उठाएको उनले बताए । नेतृत्वमा समस्या नरहेको र आउने अधिवेशनबाट एकल नेतृत्व चयन हुने उनले बताए ।