१० बुँदेको औचित्य समाप्त भएको छैन, स्थायी समितिमा एजेन्डा बनाउछौँः ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौं।
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले १० बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् ।

“१० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन–१२ जारी भएको हो । हिजो अस्ति कुन सन्दर्भमा के बोल्नुभयो, त्यो छुट्टै विषय हो ।

माधव नेपाल नरहेपछि पनि अध्यक्ष ओलीले जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्नुभएको हो । धेरै ठाउँमा कार्यान्वयन भएको पनि छ । तर केही जनवर्गीय संगठन, सुदूरपश्चिम, प्रदेश २ मा समस्या छ । आजको स्थायी समितिको बैठकमा यसबारे छलफल हुन्छ ।”

एमाले उपाध्यक्ष ज्ञवालीले पार्टी फुट्ने सम्भावना नभएको पनि दाबी गरे । उनले भने, “हामी आफ्नो पार्टीमा छौं, आफ्ना कुरा लगातार उठाइरहेका छौं । डर भएको भए एमालेमा सामेल हुने नै थिएनौं ।

आजको स्थायी समितिको बैठकमा एजेन्डा छ । हिजो स्थायी समितिमा विधान महाधिवेशनका उपलब्धि र कमीकमजोरीबारे समीक्षा भयो । चितवनमा महाधिवेशन सम्पन्न गर्न रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाएका छौं ।”

नेता ज्ञवालीले महाधिवेशनमा अध्यक्षको उम्मेदवार को बन्ने भन्ने अहिले केही पनि स्पष्ट नभएको बताए । उनले भने, “अध्यक्ष को भन्ने विषयमा हामी प्रवेश गरेकै छैनौं । केपी ओलीले पनि उठ्छु भन्नुभएको छैन । पार्टी विभाजनका कारण अहिले सिंगो पार्टी नै अप्ठ्यारोमा छ । एमालेविरुद्ध देशी विदेशी शक्ति लागेका छन् । त्यसैले हामी सचेत भएर काम गरिरहेका छौं ।”

  • ५ कार्तिक २०७८, शुक्रबार ११:२३ प्रकाशित