काठमाडौं ।
नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनिेसियासंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली युवा टोलीले आज साँझ ५ः ४५ बजे ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३ टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारीका लागि समय छोटो भएको भनेर गुनासो गरेका थिए । नेपाली युवा टोलीले ताजकिस्तान जानुअघि शहीद स्मारक ‘ए’ डिभिजन लिगको नेपाल पुलिस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोली मंगलबार ताजकिस्तान प्रस्थान गरेको थियो ।
प्रशिक्षक महर्जनले ताजकिस्तान जानुअघि सबै टोली एकै ठाँउमा बसेर अभ्यास गर्न नपाएको बताएका थिए । यु–२३ टोलीमा राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गरिएको छ । उनीहरु माल्दिभ्सबाट साफ च्याम्पियनसिप खेलेर नेपाल फर्किएको भोलिपल्ट नै ताजकिस्तान गएका हुन् ।
छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले ताजकिस्तान, लेबनान र इरानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले कात्तिक ८ गते इरान, ११ गते आयोजक ताजकिस्तान र १४ गते लेबनानविरुद्ध खेल्नेछ ।