ओलीले १० बुँदेको एकतारे धुन नसुनाउन भनेपछि रावल र भुसालले गरे प्रतिवाद

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फर्काउन सकिन्छ कि भनेर १० बुँदे सहमति गरिएको र नेपालले पार्टी फोरेपछि त्यसको औचित्य सकिएको बताएसंगै एमालेमा विवाद देखिएको छ । १० बुँदे सहमति गरेर एमालेमै बसेका माधव नेपाल पक्षीय नेताहरुले ओलीको यो भनाईको प्रतिवाद गरेका छन् ।

अध्यक्ष ओलीले बुधबार बागमतीमा आयोजित प्रशिक्षण कार्यक्रममा ‘हिजो कताको के को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर । गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे ‘यो पनि धेरै गरिरहनु आवश्यक छैन।

एकठाउँ मिलेर एकतावद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछन् कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो । अब के दश बुँदे, दश बुँदे ? हाम्रो पार्टी, हामीले बनाएको पार्टी। अरू साथीहरूले बाटो बिराउनुभयो होला ।

फर्केर आउने काम गर्ने सिद्दियो नि त । हामीले भनेका छौं माधव नेपालको कुरो बेग्लै हो। माधव नेपालसँग झुक्किएर गएका साथीहरू, बाटो बिराएका पनि फर्क भनिराखेका छौं हामी। कुनै भेदभाव गर्दैनौं, आऊ काम गरौं। योग्यताअनुसार प्रदेश कमिटी र योग्यताअनुसार केन्द्रमा बस्ने र योग्यताअनुसार जहाँ राख्न मिल्छ त्यहाँ राख्ने कुनै आग्रह छैन। तर माधव नेपाललाई नो इन्ट्री’ भनेका थिए ।

यसैको जवाफमा एमाले नेता भीम रावलले ट्वीट गर्दै ‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,’ भनेका छन्।

यता नेता घनश्याम भुसालले ओलीको धारणालाई भद्दा भौतिकवाद भन्दै भुसालले एउटा संस्कृतको श्लोक पनि राखेका छन्या : वत् जीवेत् सुखम् जीवेत्।ऋणं कृत्वा घृतं पिबेत्।भस्मिभूतस्य देहस्य पुनरागमनं कुतः।

आचार्य चार्वाकको यो श्लोकको अर्थ हुन्छ : जति जिउँछौ सुखसँग जिउने गर। ऋण गरेर भए पनि घिउ पिउने गर। चितामा भष्म हुने यो शरीर हो, पुनर्जन्म कसरी हुन्छ ?

 

  • ४ कार्तिक २०७८, बिहीबार ११:१८ प्रकाशित