पोखरा ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्यममा लागेको निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सदैव तयार रहने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुल्ला अर्थ व्यवस्थामा निजी,सार्वजनिक र नागरिक समाज एक–अर्काको परिपूरक भएको बताए ।
‘अन्तर्राष्ट्रिय व्यापारबारेको विद्यार्थी तथा प्रशासकको रुपमा पनि म निजी क्षेत्रप्रति जवाफदेही हुन्छु’,उनले भने,‘यहाँहरु (निजी क्षेत्र) अघि लाग्ने हो, हामीले सहजीकरण गरिदिने हो ।
निजी क्षेत्रलाई प्राथमिकताका साथै प्रोत्साहन गरेकै कारण दक्षिण कोरियाले ४० वर्षमै अर्थतन्त्र माथि उकासेको प्रसंग निकाल्दै उनले व्यवसायमा लाभका क्षेत्र पहिचान एव आफूसँग भएको स्रोतको परिचालनमा विशेष ध्याद दिनुपर्ने धारणा व्यक्त गरे ।
कोभिड मत्थर भएपनि कास्कीमा संक्रमणको दर २३ प्रतिशत रहेको एवं ८ सयको हाराहारीमा सक्रिय संक्रमित रहेको तथ्य पेश गर्दै उनले स्वास्थ्य सुरक्षाको पालना गर्न नागरिकहरुसँग आग्रह पनि गरे । निषेधाज्ञा समस्याको समाधान नभएकोमा आफू सहमत भएको बताउँदै उनले भने,‘संक्रमण बढ्न थाल्यो भने जनताको सुरक्षाको लागि अप्रिय निर्णय गर्न हामी बाध्य हुन्छौं ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले कोभिडले व्यापार/व्यवसायमा पारेको असर न्यूनीकरणतर्फ प्रशासनले सहजीकरण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कोभिडकालीन समयमा स्थानीय प्रशासनसँग संघले सहकार्य गरेको स्मरण गर्दै आउँदा दिनमा पनि त्यो सहकार्य कायम रहने बताए । पोखरा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पादन गरेका कामहरुको जानकारी दिँदै उनले भने,‘निजी क्षेत्र सामाजिक उत्तरदायित्व बहन गर्न सदैव तयार छ, हामीलाई सहजीकरणको खाँचो छ ।’
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन संघका महासचिव सुरेन्द्रमान विजुक्छेले गरेका थिए ।