काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
अविरल वर्षाको कारण देशको सूदूरपश्चिम र पूर्वी क्षेत्र बाढी, पहिरो र डुबानले तहसनहस पारेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिनसक्ने सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ भने अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका छन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
साथै, प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको भन्दै उपलब्धिहरु सार्वजनिक भएका छन् । आजको बैठकमा त्यस विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।