पर्वत ।
साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । मेयर रामचन्द्र जोशीले गएको शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टोलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु’, मेयर जोशीले भने।
खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले त्यो रकम पुरस्कार स्वरूप दिने घोषणा गरेको जोशीले बताए।
सीमित स्रोत–साधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो देशका लागि ऐतिहासिक भएको उनले बताए । नगरपालिकाले छिट्टै नगर समिति बैठक डाकेर त्यो रकम नेपाली खेलाडीसमक्ष पुर्याउने जोशीले बताए ।