एमालेको वडा अधिवेशन ६ कार्तिकमा देशभर , ओलीले भर्चुअल उद्घाटन गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। देशभरका ६ हजार ७ सय ४५ वडामा ६ कार्तिकमा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल गर्ने छन्।

बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको एमाले श्रोतले जानकारी दिएको छ ।

एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ। ६ कात्तिकमा वडा अधिवेशनपछि ९ कात्तिकमा देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ।

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ। वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

  • ३१ आश्विन २०७८, आईतवार १९:२१ प्रकाशित