काठमाडौँ ।
चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो । उनले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए ।
यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उनले जानकारी दिए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ । सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।
अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन् ।