पूर्व राजाले गरे व्यवस्था माथि प्रश्न, ‘राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक छैन’

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्था र दलहरुले गरेको कामहरु प्रति प्रश्न उठाउँदै राजसंस्था विनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक छैन भनेका छन् । दसैँका अबसर पारेर मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो भनेका हुन् ।

‘कुनैपनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुनेगर्छ। त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभुत गर्न सक्नुपर्छ। दुभार्ग्यवश शिक्षा, स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भष्ट्रिकरण, सीमित व्यक्तिलाई फाइदा पुर्याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ। त्यसैगरी सार्वभौमिकता राष्ट्रियता, राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, परराष्ट्रनीति असन्तुलित भएर राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ,’ उनले आफ्नो भिडियो सन्देशमा भनेका छन।

यस्तै पूर्वराजा ज्ञानेन्द्रले देशको तत्कालिन परिस्थितले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएपनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आत्मबोध आफूलाई भएको बताएका छन ।

ुदेशको तत्कालिन परिस्थितले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएपनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौं,’ उनले भनेका छन्, केही समय यता जिम्मेवार एवम देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताबाट व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग निष्ठामात्रै प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौं।’

उनले राजनीति र राजकाजी चालचलन समाज सनातनिक आदर्श र पुर्खौली पौरख अनुरुप हुन नसकेको बताएका छन । ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्खौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन,’ उनले भनेका छन्,’ लोककल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षापुर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह, त्यसभित्रको गुठउपगुठमा अल्झिएको छ।

कोरोनाको महामारी अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरी फसेका नेपालीले सत्य सेवा र लोकहितको अनुभुति गर्न पाइरहेका छन् त ? हरेक नेपालीलाई आफ्नो स्वत्नत्र विचार, आस्थाको अधिकार छ, हुन्छ र रहन्छ। राजसंस्था बैचारिक आस्थाको आधारमा विभेद गर्दैन।’

  • २६ आश्विन २०७८, मंगलवार १६:२५ प्रकाशित