दसैँ सुरु भएपछि ६० हजारले पोखरा छाडे, थप १० हजारले छाड्ने अनुमान

केन्द्रभाग मिडिया

उमा वि.क.
पोखरा ।
दसैँ सुरु भएपछि पाँच दिनको अबधिमा ६० हजार जनाले पोखरा छोडेका छन् । घटस्थापना देखि सोमबारसम्म त्यतिको संख्यामा सार्वजनिक सवारी मार्फत यात्रु बाहिरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सोमबार मात्र पोखराबाट ८ हजार ९८० यात्रु विभिन्न नाका हुँदै बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार २ हजार ९ सय ६२ सवारी मार्फत सोमबार यात्रु बाहिरिएका छन् ।

मंगलबार बाट सबै कार्यालय बन्द भएकाले मंगलबार साँझसम्म यात्रुको चाप केही रहन सक्ने भएपनि बुधबार देखि यात्रुको संख्या ह्वात्तै खट्ने उनले बताए । नवमीको दिनसम्म थप १० हजार यात्रु बाहिरिन सक्ने उनको आंकलन छ ।

नवरात्रको सातौँ दिन आज मंगलबार हिजोको तुलनामा केही कम यात्रु बाहिरिने सम्भावना छ । ट्राफिक प्रमुख बस्नेतले भने,‘प्राय यात्रु हिजो सम्ममा बाहिरिई सकेछन्, आजबाट सरकारी कार्यालयहरुमा छुट्टि भएकोले हिजै अधिकांश यात्रु बाहिरिएका छन् त्यसैले आज तुलनात्मक रुपमा केही कम यात्रु बाहिने अनुमान छ ।’

पोखराबाट मंगलबार झण्डै २५ सय हाराहारीमा सवारी मार्फत झण्डै दुई हजार यात्रु बाहिरिने अनुमान उनको छ । पोखराबाट देशका झण्डै सबैभागमा सेवा दिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अनुसार सोमबार रातिसम्म झण्डै २५ हजार जनाले काउन्टरमा टिकट काटेर यात्रा गरेका छन् ।

कम्पनीका अध्यक्ष योगेन्द्र केसीले पोखराबाट टिकट काटेर भन्दा बिना टिकट यात्रा गर्नेहरु धेरै हुन्छन् । छिमेकी जिल्लाहरुमा जाने यात्रुहरु सार्वजनिक यातायातका साधन भन्दापनि निजी सावरी साधनमा समेत जाने गरेका छन् ।

विगतमा सहज अवस्थामा पोखराबाट दशैंका बेला ५० हजार भन्दा धेरै यात्रु बृथ्वीका गाडि चढेर बाहिरिने गरेकामा यसपाली कम भएको उनले बताए । कोरोना कहरका कारण घर गएकाहरु अब दशैं मनाएर मात्र फर्कने सोचमा रहेकाले पनि अहिले पोखराबाट बाहिरिने यात्रुको संख्या कम भएको उनको भनाई छ । विगतमा अन्य सार्वजनिक यातायात र नीजि समेतमा जानेको संख्या गरेर तेब्बर संख्या रहने गरेको उनले सुनाए ।

पोखराबाट विशेषगरी छोटो दुरीका यात्रुले टिकट नकाटीकनै चोकचोकमा बसेर गाडि ढुक्ने गर्छन् । उनीहरुले टिकट काट्न भन्दापनि बाग्रेनिङ गरेर यात्रा गर्ने गरेको पाइएको छ । टाढा पुग्ने यात्रुले भने टिकट काटेर यात्रा गर्ने गरेका छन् । पोखराबाट टाढाको यात्रा गर्ने अधिकाँस यात्रुले भने टिकट काट्ने गरेका छन् । यहाँबाट काँकडभित्ता, धरान, कटारी, बिराटनगर, जनकपुर, विरगञ्ज, फत्तेपुर, सिन्धुली, महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ लगायतका स्थानमा पुग्ने यात्रुले टिकट काट्ने गरेका छन् ।

अरुबेला बार्गेनिङ गर्दा सस्तोमा चढ्न पाइने भएपनि चाडबाडका बेला चाप धेरै हुनेहुँदा यात्रु उल्टो ठगिने सम्भावना हुन्छ । त्यसैले टिकट काटेर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख बस्नेत यात्रुलाई आग्रह गर्छन् ।

यस्तोबेला सामान एउटाको अर्कोमा पर्ने, आफू चढेको यातायातको साधन कुन हो भन्ने यात्रुले पत्तो नपाउने जस्ता समस्या धेरै प्रहरीकोमा आइपुग्ने उनी सुनाउँछन् । ‘सामान मिस प्लेस भयो भन्ने गुनाउसो आउँछ, कुन गाडिमा हो भन्यो भने यस्तो कलरको गाडि भन्छन्, उनले भने ‘पहिचान गर्नै निकै कठिन हुन्छ ।’ टिकट काटेर यात्रा गरे पहिचान गर्नपनि सहज हुनेर तोकिएभन्दा धेरै भाडा तिर्नपनि नपर्ने उनले सुनाए ।

खासगरी नारायणगढ, बागलुङ, बेसीशहर, स्याङजा र बुटवल लगायतका क्षेत्रमा जाने यात्रुले टिकट नकाट्ने गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनिका अध्यक्ष केसी बताउँछन् । कम्पनीले टिकट काट्न आग्रह गरिरहेको उनको भनाइ छ । टिकट काटेर यात्रा गर्दा बिमा लगायतका सुविधा यात्रुले पाउँछन् । नकाट्दा केही भइहाले विवाद हुन सक्छ ।

दशैंका बेला यात्रुले बर्षभरी कामाएको रकम साथैमा लिएर यात्रा गर्नेे, गरगहना लगायरै यात्रा गर्ने र खानपानमा ख्याल नगर्दा ठगिने समेत अवस्था अउन सक्छ । यस्तो बेला यात्रुलाई समेत समयमै सचेत गराउने, बीचबीचमा अनाबस्यक सवारी नरोक्न र सुरक्षित अनि सार्वजनिक सौचालय भएको स्थानमा मात्र रोक्न चालक सहचालकलाई सुझाएको केसीले जानकारी दिए । ‘चाडबाडका बेला आउन सक्ने जोखिम प्रति हामी सचेत छौं,’ उनले भने,‘चालक सहचालक र यात्रुलाई समेत हामी सचेत ढंगले यात्रा गर्न गराउन भेनका छौं ।’

बिशेषगरी टिकाको अघिल्लो दिन, टिकाको दिन र भोलिपल्टका लागि बसहरुका लागि क्यु फ्रि गरिएको छ । यो अबधिमा यात्रुको आबश्यकता र चाप हेरेर जुनसुकै क्षेत्रमा पनि सेवा दिन सवारी धनि र चालकलाई रोक लगाइने छैन । टिकाको अघिल्लो दिन र टिकाको अवधिमा यात्रु ठगिएको गुनासो आउने गरेकाले तोकिएभन्दा धेरै पैसा तिर्नुपरे प्रहरी वा स्वयम कम्पनीमा फोन गरे रकम फिर्ता गराईने केसीले जानकारी दिए । ‘टिकाको दिनमा पनि सेवा दिँदा केही थप लिऔं भन्ने लाग्न सक्छ, तर त्यसो गर्न पाइन्न,’ उनले भने,‘त्यसो गरेको पाइए सिधै प्रहरीलाई र हामीलाई फोन गर्नुहोस्,’ उनले भने ।

 

  • २६ आश्विन २०७८, मंगलवार ११:५६ प्रकाशित