काठमाडौं ।
कोरोना संक्रमणका कारण २० महिना देखि कोरिया जान नपाएका कामदार अब जान पाउने भएका छन्
नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउन सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्।
आगामी कार्तिक १० गतेदेखि फेरि कामदार लान सुरु गर्न लागिएको हो । पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदारलाई क्रमशः पठाइने बताइएको छ ।
लामो समयपछि प्रक्रिया सुरु भएसँगै कोरिया जान पाउने आशा बढेको कोरिया जाने पर्खाइमा रहेका कामदारहरूले बताएका छन्।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर कामदार कोरिया जाने गरेकोमा २० महिनादेखि जान पाएका थिएनन ।
परीक्षा उत्तीर्ण गरेका र पहिले काम गरेर आइसकेका त्यस्ता कामदारले सङ्क्रमण घटेका बेला आफूहरूलाई पठाउने व्यवस्था नगरिएको भन्दै गुनासो गर्दै आएका थिए ।
लामो समयदेखि सरकारलाई दबाव दिन सङ्घर्ष गर्दै आएका यस्ता कामदारहरूले पछिल्लो प्रगतिलाई सकारात्मक कदम भनेका छन्।
१० हजारले नै जान पाउने अपेक्षा
कामदारलाई कोरिया लाने प्रक्रिया सुरु हुन थालेपछि हालसम्म रोक्किएका १० हजार परीक्षार्थीले जान पाउने अपेक्षा गरेका छन् । कोरिया कामदार लैजानका लागि यस वर्षको परीक्षा हुने वा नहुने भन्नेमा भने अझै टुङ्गो नभएको अधिकारीहरूले बताएका छन्।
परीक्षाका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण जारी रहे पनि पहिले उत्तीर्ण गरेका कामदारलाई पठाएर मात्रै अर्को परीक्षा गर्दा सहज हुने उनीहरूको तर्क छ।
हालसम्म कोरियामा कामदारका रूपमा ६० हजार नेपाली गइसकेकोमा ३१ हजारको हाराहारीमा अहिले पनि कोरियामै रोजगारीमा रहेको बताइएको छ