मन्त्री भएकाहरुलाई बोलाएर माधव नेपालले दिए यस्तो निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् ।

पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ’, अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्देशन दिने क्रममा भने, ‘यस्तो अवस्थामा तपाईंहरु मन्त्री बन्नुभएको छ । यसलाई मध्यनजर गर्दै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको ख्याल गर्नुस् ।’

त्यस्तै अध्यक्ष नेपालले मन्त्रीहरुलाई पारदर्शी बन्न, आचारसंहिताको पूर्ण पालना गर्न र देश र जनता सवैभन्दा माथि राखेर काम गर्न पनि भनेका हुन् ।

‘पारदर्शी बन्नुुस्, आचारसंहिताको पुर्ण पालना गर्नुस्, देश र जनताको आवश्यकतालाई प्राथमिकता दिनुस्, विवादास्पद काम नगर्नुस्’, अध्यक्ष नेपालको निर्देशन उधृत गर्दै अर्का एक मन्त्रीले भने ‘बदनाम हुने काम गर्दै नगर्नुस् ।’

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिदएका छन् । मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्नुपर्ने नेपालको निर्देशन छ ।

  • २४ आश्विन २०७८, आईतवार १७:५३ प्रकाशित