प्रधानमन्त्री देउवाले भने, ‘अहिले गर्नु धेरै छ, धेरै बोल्नु छैन’(भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अहिले गर्नुपर्ने धरै रहेकाले धेरै बोल्नु छैन’ भनेका छन् । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

उनले देशका लागि गर्नुपर्ने धेरै नै रहेको धारणा राख्दै संघीयताको सफल कार्यान्वयन हुन नै बाँकी रहेको बताए । संघीयता घोषणा भएर त्यस अनुरुप अगाडि बढेको भएपनि नागरिकलाई अधिकार सम्पन्न बनाएर अगाडि बढ्नका लागि संघीयताको सफल कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनमा ढिलाई हुँदा यसका विरोधीहरु केही उत्साहित भएको समेत संकेत गरेका छन् । तर, उनीहरुलाई उत्साहित नहुन उनले चेतावनी दिए । गर्न धेरै छ । छिटो छरितोढंगले विकासलाई अगाडि बढाउनुपर्ने छ । सबै दल प्रजातन्त्रका लागि लडेरै अगाडि आएका हुन् । संघीयतालाई सफल कार्यान्वयन गराउनुपर्ने छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अहिले कोही उत्साहित भइहाल्नु पर्ने अवस्था छैन,’ उनले भने ।

देश कोरोना संक्रमणको जोखिममा अझै पनि रहेको भन्दै यसलाई निर्मूल पार्नका लागि सरकारले प्रयास गरिरहेको धारणा राखे । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासलाई सकारात्मक भनेको र बेलायतले समेत नेपालीका लागि प्रवेश सहज बनाएको चर्चा गर्दै उनले छिट्टै कोरोना संक्रमण मुक्त हुनेगरी आफूहरुले प्रयास गरेको धारणा राखे ।

गण्डकी प्रदेश साक्षर घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अब साक्षर घोषणा भएसंगै शिक्षित प्रदेश घोषणा तर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । उनले देशका लागि आवश्यक प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

परिवर्तनका लागि लागेका राजनीतिक दलहरु अव विकास निर्माणको अभियानमा एकाकार हुन समेत उनले आग्रह गरेका छन् । राजनीतिक दलहरुले आह्वान गरेका कार्यक्रममा मानिसहरुको सहभागिता व्यापक देखाउन कसरत गर्ने तर, राज्यले गरेका उपलब्धिमा अपनत्व लिन दलहरुले कन्जुस्याई गरेको उनको तर्क छ । ‘यहाँ राजनीतिक दलले कार्यक्रम आयोजना भएको भए आफ्ना कार्यकर्ताले खचाखच पारिने थियो । तर, प्रदेशलाई साक्षर भएको घोषणा गर्ने यस्तो गौरभपूर्ण कार्यक्रममा उपस्थिति किन यस्तो ?’ भन्दै उनले प्रश्न गरे ।

साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी लगायतले उक्त अवसरमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनुका आधारका बारेमा जानकारी गराएका थिए ।

यस अगाडि ३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए घोषणा गर्न मिल्ने मापदण्ड भएकाले त्यस भन्दा माथि दर रहेकाले गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।

  • २४ आश्विन २०७८, आईतवार १४:२४ प्रकाशित