बेलायतको रेड लिस्टबाट हट्यो नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल हवाई यात्राको रातो सूचीबाट हटेको छ ।

बेलायत सरकारले नेपाललाई हवाई यात्राको रातो सूचीबाट हटाएको हो । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् ।तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् ।

कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो ।बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ ।

लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले ब्रिटिश सरकारको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताएकी छन्।

“हामीले नेपाललाई रातो सूचीबाट हटाउन ब्रिटिश सरकारसंग पहल गरेका थियौँ। अब नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरूलाई सहज हुने हामीले अपेक्षा गरेका छौँ,” उनले भनिन्।

यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका मुलुकलाई ‘रातो’, ‘पहेँलो’ र ‘हरियो’ गरी तीन भिन्दाभिन्दै सूचीमा वर्गीकरण गरेको थियो।

यस्तै, बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसोन एण्ड जोनसोनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने छ।

  • २२ आश्विन २०७८, शुक्रबार ०८:४५ प्रकाशित