पोखरामा विद्युतको माग धान्न ६२ ट्रान्सफर्मर थप्नुपर्ने, ९ करोड लाग्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा दिनहुँ बढिरहेको विद्युतको मागलाई व्यवस्थापन गर्नका लागि ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने भएको छ । विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख केदारराज सिलवालका अनुसार त्यसका लागि प्राधिकरणले ९ करोड रुपैयाँ खर्चिनुपर्ने छ । यसका लागि प्रादेशिक कार्यालयले केन्द्रसँग बजेट व्यवस्थापनका लागि आग्रह गरिसकेको जानकारी दिए ।

यी ट्रान्सफर्मर थपेपछि थप दुई वर्षसम्म माग धान्ने क्षमता रहने उनको भनाइ छ । ‘पोखरामा बढ्दो विद्युत् माग थेग्न ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने अवस्था छ । केही थपिएको पनि छ । यो सबैका लागि ९ करोड रुपैयाँ चहिन्छ । हामीसँग बजेट जम्मा डेढ करोड छ । थप नपुग बजेटको व्यवस्थापनका लागि केन्द्रमा लेखी पठाएका छौँ । यसका लागि ६ महिना जति समय लाग्न सक्छ । तर, थप ट्रान्सफर्मर नहाल्दैमा विद्युत् आपूर्तिमा तत्काल समस्या नरहे पनि वेलावेला फ्युज जाने अवस्था भने रहिरहन्छ,’ उनले भने ।

विजुली उत्पादन बढिरहेपनि पूर्वाधार निर्माणमा कोभिड १९को संक्रमणका बेला केही समस्या रहेको उनले बताए । कोरोना संक्रमण नभएको भए अहिलेसम्म ट्रान्सफर्मर लगायतका आवश्यक पूर्वाधार तयार भइसकेका हुने भन्दै उनले यि ट्रान्सफर्मर थप्न र अन्य केही पूर्वाधार व्यवस्थापन गर्न कम्तिमा ६ महिना समय लाग्ने पनि जानकारी दिए । अब विद्युत खपतका लागि इन्डक्सन चुलोको प्रयोगलाई बढाउने र इलेक्ट्रिक भेइकलमा जोड दिएको भन्दै उनले यसका लागि तयार राख्न पनि पोखरामा ट्रान्सफर्मर थप्नुपर्ने उनको भनाई छ ।

  • २० आश्विन २०७८, बुधबार ०८:११ प्रकाशित