केपी ओली एमालेको देवता होइन, नेता होः गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं।
नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण नगरेको दाबी गरेका छन् । उनले ओली जस्तो नेता एमालेमा मात्र नभएर सिंगो देशमै नभएको बताए ।

गुरुङले भने, “केपी ओली एमालेको प्रतीक हो । तर उहाँ नेता हो, देवता होइन । एमाले भगवान् मान्दैन, पूजा गर्दैन । त्यसैले ओलीको फोटोमा घन्टी बजाएर पूजा गरिएको छैन । तपाईंहरु ओलीलाई किन लखेट्नुहुन्छ रु किन डाह र ईर्ष्या गर्नुहुन्छ ? हामीले ओलीको विचार, इमान र सक्रियतालाई समर्थन गरेका हौं । उहाँ एमालेको मात्र निर्विकल्प नेता होइन, उहाँ जत्तिको नेता अर्को कुनै पार्टीमा छैन । अब ओलीलाई लखेटेर केही हुनेवाला छैन ।”

ओलीको भिजन र इच्छाशक्ति देखेर सिंगो कम्युनिस्ट आन्दोलनका लागि वरिपरि गोलबन्द भएको उनको दाबी छ । उनले थपे, “यहाँ १७ हजार जनता मारेको आरोप लागेका मानिस कुनै पार्टीका अध्यक्ष छन्, लोकतन्त्रलाई दरबारमा बुझाएको नेता प्रधानमन्त्री छन् । निजी स्वार्थका लागि फस्ट म्यान हुन सकिन्न, प्रधानमन्त्री हुन सकिन्न भन्ने लागेर पार्टी छाडेका मानिस नेता छन् । १५ वर्ष पार्टी महासचिव बनाउँदा पनि कोही अघाउँदो रहेनछ । कसैलाई १२ वर्ष अध्यक्ष बन्दा पनि पुग्दो रहेनछ । कोही ४० वर्षसम्म अध्यक्ष हुँदा पनि हस्तान्तरण गर्ने जाँगर चलाउँदैनन् । ओलीको त भरखर एक कार्यकाल सकिएको हो, अर्को कार्यकाल अध्यक्ष हुन पाउने वैधानिक व्यवस्था छ । त्यसमा पनि तीन वर्ष शून्य अवधि मानिएको छ ।”

ओलीलाई फेरि पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउने कुरा आएको छ, के एमालेमा अरु नेता छैनन् भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले सचिव गुरुङले भने, “ओलीको उमेर अहिले ६८ वर्षमात्र हो । एघारौं महाधिवेशनमा हामीमध्ये कोही हुन्छौं । तर जबर्जस्ती नेतृत्वमा पुग्नुको अर्थ छैन । उमेर र अनुहार निरपेक्ष कुरा हुन् ।”

उनले विधान महाधिवेशनपछि एमाले एकताबद्ध भएर अघि बढेको र वैचारिक रुपमा समस्या नरहेको बताए । उनले भने, “माधव नेपाल र झलनाथ खनाल पार्टीबाहिर जाँदा एकदुई प्रतिशत घाटा भएको छ । हामीले बुझ्नुपर्ने के छ भने झलनाथ खनाल या माधव नेपाल बनेको एमालेका कारण हो । एमालेकै कारण उहाँहरू अध्यक्ष र प्रधानमन्त्री हुनुभएको हो ।”

  • १९ आश्विन २०७८, मंगलवार ११:१५ प्रकाशित