गण्डकीमा बेलाबखत किन गइरहन्छ विद्युत ? विद्युत प्राधिकरण गण्डकीका प्रमुख सिलवालको जवाफ ( भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
पछिल्लो समय बिद्युत प्रवाहमा अबरोध हुँदा नागरिक हैरान छन् । झ्याप्प–झ्याप्प विद्युत जाने र लामै समय नआउँदा नागरिकलाई अहिले पनि लोडसेडिङ गरिरहेको हुनसक्ने आसंका छ ।

चट्याङको समस्या र ओभर लोडिङका कारण ट्रन्सफर्मरमा फ्युज जाने हुँदा विद्युत प्रवाहमा समस्या रहेको विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक केदार सिलवाल बताउँछन् ।

‘पोखरा र आसपासमा लाइटिङको समस्या छ । पोखरामा ओभरलोडिङको समस्या छ । जसका कारण ट्रान्सफर्मर जल्ने र फ्युज जाने भइरहन्छ । ट्रान्सफर्मर फेर्दा र फ्युज फेर्दा समय लाग्छ ।

लोडसेडिङ हटेपछि बत्ति बालिरहने बानीपरेका ग्राहकलाई अहिले यस्तो हुँदा भित्रभित्रै लोडसेडिङ गरेको भन्ने पनि परेको हुन सक्छ, तर त्यस्तो होइन,’ उनले भने ।

निर्देशक सिलवालले पोखरामा यो समस्या समाधानका लागि केन्द्रमा आग्रह गरिएको जानकारी दिए । प्रशारण लाइन क्षमता बढाउनुपर्ने र ट्रन्सफर्मर थप्नुपर्ने उनले बताएका छन् । अब विस्तारै वर्षाद् कम हुँदै गएकाले चट्याङबाट हुने समस्या पनि कम हुने उनले बताएका छन् ।

गण्डकी प्रदेशमा चाडबाडका बेला विद्युत आपूर्तिमा समस्या आउन नदिन सबै वितरण शाखाहरुलाई निर्देशन दिइएको र मर्मतसंहारको कामलाई अगाडि बढाइएको उनले बताए ।

बाढी पहिरोका कारण प्रदेशका ११ मध्ये ५ जिल्लामा विद्युत आपूर्तिमा समस्या भएकामा मनाङ बाहेक अहिले सबै जिल्लामा आपूर्ति सहज भएको र मनाङमा पनि मर्मतसंहारको काम चलिरहेकाले छिट्टै विद्युत आपूर्ति सहज हुने उनले बताएका छन् ।

 

  • १८ आश्विन २०७८, सोमबार १७:१२ प्रकाशित