जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै छ ।

भदौ ३० गते देखि सुरु भएको राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिन लागेको हो ।पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ। बाँकी रहेको काम दुई-चार दिनमा सकिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको संख्यामा मात्र आएको छ । गाउँ–गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।

ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि संकलित विवरण आउन ढिलाइ भएको हो । अहिले देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ । यस्तै, पहिलो चरणको घर परिवार सूचीकरणमा नेपालको नयाँ चुच्चे नक्सामा परेका महाकाली पारिको लिपुलेक र कालापानी क्षेत्र छुटेको छ ।

सुपरिवेक्षण पठाउनै आनाकानी गर्दा महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घरपरिवार सूचीकरण हुन नसकेको हो । मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने विभागले जनाएको छ ।

  • १८ आश्विन २०७८, सोमबार ०८:५० प्रकाशित