पोखरा ।
नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकासंग प्रतिस्पर्धा गदैछ । नेपालले पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई १–० ले हराएको थियो । साफमा माल्दिभ्सलाई नेपालले हराएको यो पहिलोपटक हो । श्रीलंका भने बंगलादेशसँग १–० कै नतिजामा हारेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाले एग्रेसिभ फुटबल खेलेका कारण जोगिएर खेल्नुपर्ने बताएका छन् ।
‘हामीले बंगलादेशविरुद्ध श्रीलंकाले खेलेको हेर्यौँ । श्रीलंकाले एकदम फिजिकल गेम खेलिरहेको छ । उनीहरूले एकदम एग्रेसिभ खेलेका छन् । बढी ट्याकल र फाउल गरेका छन् । हामीले उनीहरूसँग बचेर खेल्नुपर्छ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘हामीले माल्दिभ्सविरुद्धको नतिज बिर्सनुपर्छ । र, प्रतियोगितामा पहिलो खेल खेल्दै छौँ भन्ने सोचेर खेल्नुपर्छ । हामी जितका लागि मिहिनेत गर्नेछौँ ।’
अल्मुताइरीले श्रीलंकन टिमले बंगलादेशविरुद्ध ६७ ट्याकल गरेको र २३ फाउल गरेको बताए । बंगलादेशविरुद्ध श्रीलंकाका एक खेलाडीले रातो कार्डको सामना गरेका थिए । त्यसको फाइदा नेपाललाई हुने प्रशिक्षक अल्मुताइरीले बताए ।
‘उनीहरूले पहिलो पहेँलो कार्ड नै खराब ट्याकलका कारण खाएका थिए । हामी उनीहरूसँग जोगिएर खेल्छौँ । उनीहरूलाई ट्याकल हान्न मनपर्छ । हामी त्यसका लागि प्रतीक्षा गर्नेछौँ । तर, हरेक प्रकारले उनीहरूलाई हराउने प्रयास गर्नेछौँ । हामी तीन अंकका लागि लड्नेछौँ,’ उनले भने ।
माल्दिभ्ससँगको जितपछि हौसिएका नेपाली समर्थकले श्रीलंकालाई फराकिलो अन्तरमा हराउनुपर्ने माग गरेको अल्मुताइरीले बताए । तर, फिफा वरीयातामा श्रीलंका नेपालभन्दा तल भए पनि उनीहरूविरुद्ध खेल्न सहज नहुने अल्मुताइरीले बताए ।