एमालेको १० औं महाधिवेशन बुटवलमा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दा आइतबार काठमाडौंमा पहिलो विधान महाधिवेशन समापन भएको हो ।

यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । विधान अधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भयो । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न निर्देशन दिए ।

‘आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनुपर्छ । स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो । त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो । छलफलमा आएका सुझावमाथि ओली लगायतका नेताहरूले जवाफ दिएका थिए ।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले महाधिवेशनका काम कर्तव्य पुरा भएको भन्दै आन्दोलनलाई बलियो बनाउन नयाँ अठोट र संकल्पका साथ अघि बढ्न बाटो खुलेको बताए ।

  • १७ आश्विन २०७८, आईतवार २०:५९ प्रकाशित