पोखरा ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कास्कीमा कांग्रेसका तीन पुस्ताको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्की कांग्रेसका पूर्व सचिव समेत रहेका उनले अग्रज, आफू सरहका र नयाँ पुस्ताको नेतृत्व गर्ने बताए ।
पहिलो पुस्तामा जनमत संग्रह लगायतका आन्दोलन देखि सहभागी, दोस्रो पुस्तामा ४६ सालको आन्दोन देखि सहभागी र तेस्रो तहमा त्यसभन्दा पछाडि देखि २०६२/०६३को जनआन्दोलनमा सक्रिय पुस्ता रहेको उनले विश्लेषण सुनाए । कांग्रेस कास्कीमा जिल्ला नेतृत्वको होडबाजी चलिरहेका बेला उनले आफूले कुन पदका लागि प्रतिस्पर्धा गर्ने भन्नेबारे भने खुलाएनन् ।
‘पहिलो पुस्तालाई आगामी १५ औं महाधिवेशनमा विदा गर्ने हो । अहिले नेतृत्व तहमै सम्मान गर्नुपर्छ । दोस्रो पुस्ता र तेस्रो पुस्ता पनि नेतृत्वमा सहभागी हुन्छ । मैले कास्कीमा तीन वटै पुस्ताको नेतृत्व गर्छु ।’ उनले केन्द्रखबरसंग भने, ‘म यो पदमा उठेर नेतृत्व गर्छु भनेर मिडियामा भन्दिन । अग्रज, समकालिन र नयाँ पुस्ताका सबै साथिहरुसंग सल्लाह गरेर उपयुक्त समयमा उम्मेद्वारी घोषणा गर्छु ।’
अध्यक्ष कुँवरले आफूले निर्वाचनमा जाँदा कांग्रेस पार्टीको घोषणा पत्र र आफैले जाहेर गरेका सबै प्रतिवद्धता पुरा गरेको दाबी गरे । पार्टीगत रुपमा र पार्टीगत रुपमा दुबैढंगले आफूले कांग्रेसका गरिमा बढाएको उनको टिप्पणी छ
। ‘जनप्रतिनिधिको हिसावले मैले सक्नेजति काम गरेको छु । पार्टीको घोषणा पत्र र मैले जाहेर गरेका प्रतिवद्धता सबै पुरा गरेको छु । अब गाउँपालिकामा आउने नेतृत्वले मैले हालेकै जगबाट माथि उठाउने हो भने १५ वर्षभित्र देशकै उत्कृष्ट बस्न लाएक गाउँपालिका अन्नपूर्ण गाउँपालिका हुन्छ,’ उनले भने ।















