एमाले विधान महाधिवेशनः समूहगत छलफलको रिपोर्टिङ सकियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा (एमाले)को विधान महाधिवेशनको अन्तिम दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट जारी महाधिवेशनमा आज बिहान प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटी समूहका नेताले आ(आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।

प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको रिपोर्टिङ गरेका थिए भने जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले गरेकी थिइन् ।

शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा छलफल गरी सुझाव प्रस्तुत गरिसकेका थिए ।

महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।

  • १७ आश्विन २०७८, आईतवार १३:२५ प्रकाशित