काँग्रेस नेतृत्वका लागि अगाढी बढें, अब रोकिन्नँः सिंह

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको कै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन् ।

उनले लोकतन्त्रलाई बलियो बनाउदै आम नेपालीले सोचेको मुलुक बनाउन आफू केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए । नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मे–हुर्केका नेतालाई सानो देख्ने तर, बाहिरबाट आएको नेतालाई ठूलो देख्ने रहेको गुनासो गरे ।

उनले आफू पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गरे । पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अब भने विश्राम दिने बेला आएको उनको भनाइ छ ।

उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अव दोहराउन नहुने धारणा राखे । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशिल सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने जिकिर गरे । त्यस्तै कांग्रेसका युवा नेता गगन थापाले जनतासँग गरिएको बाचा कांग्रेसले पूरा गर्छ भन्ने भरोसा दिलाउनुपर्ने बेला आएको बताए ।

त्यस्तै उनले अरुको बलमा नभएर आफैँले एकल शक्तिको आधारमा कांग्रेसको झण्डा गाड्ने बेला आएको उल्लेख गरे । पार्टीको महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको उनले बताए ।

  • १६ आश्विन २०७८, शनिबार १५:३६ प्रकाशित