स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुदाँ पीडाबोध भएको छ : स्वास्थ्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुँदा आफुलाई पीडाबोध भएको बताएकी छन्

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दोस्रो वार्षिक उत्सव समारोहमा मन्त्री अधिकारीले यस्तो बताएकी हुन ।उनले गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ताको अझै सम्बोधन हुन नसक्दा आफूलाई पीडाबोध भएको बताइन् ।

उनले भनिन् ‘गण्डकी सरकारले दिने भनेको जोखिम भत्ताको बारे अझै निर्णय हुन सकेको छैन। म पदमा बसीरहँदा स्वास्थ्यकर्मीका आवश्यक सुरक्षा सम्बन्धि माग सम्बोधन नभईरहँदा यसले मलाई पीडा दिएको छ ।’

उनले प्राविधिक कारणले जोखिम भत्तासम्बन्धि निर्णय हुन नसकेको जनाइन् । साथै मन्त्री अधिकारीले प्रयोगशालामा आउने समस्या समाधान र स्वास्थ्यक्षेत्रका माग छिट्टै सम्बोधन गर्ने प्रतिवद्धता जनाइन् ।

मन्त्री अधिकारीले विश्व त्रसित बनेको कोभिडका बेला आफ्नो ज्यानको बाजी लगाएर जनताको स्वास्थ्य सेवामा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी लगायत स्वयमसेवकको प्रशंसा गरिन् ।

हाल प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भाडाको भवनबाट सेवा दिदैँ आइरहेको छ । निजी भवन निर्माणका लागि पनि प्रदेश सरकार समक्ष पहल गर्ने मन्त्री अधिकारीले बताइन् ।

यस्तै उनले कोरोनाको लडाई जितेर शक्ति सञ्चयको चरणमा प्रवेश गरेको बताइन ।गण्डकी प्रदेश लगायतका अन्य सातै प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणमा आइरहेकाले अब हामी शक्ति सञ्चयको प्रक्रियामा आएको बताएकी हुन् ।

प्रयोगशालाले एक समारोहको बिच दोस्रो वार्षिकउत्सव सम्पन्न गरेको गरेको हो । कार्यक्रममा कोरोना संक्रमणका समय दिनरात नभनी नमुना परीक्षणमा खटिएका प्रयोगशालाकर्मीहरुलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।

७५ बढी कर्मचारीलाई स्वास्थ्यमन्त्री अधिकारी र प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोदविन्दु शर्माले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोह गण्डकी प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।लेखाअधिकृत खेमराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए

  • १५ आश्विन २०७८, शुक्रबार १४:४४ प्रकाशित