आज पनि संसदमा एमालेको नाराबाजी, अर्को बैठक असोज १९ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पनि प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ नाराबाजी गरेको छ ।

पार्टी विभाजनमा भुमिका खेलेको भन्दै सभामुखसँग रुष्ट बनेको एमालेले बैठकको सुरुवातमा नाराबाजी गर्दै अवरोध गरेको हो । माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद्मा अवरोध कायमै राख्ने एमालेले अडान लिएको छ ।

एमालेले माधव नेपालसहितका सांसद बैठकमा उपस्थित हुन नदिए मात्र बैठक चल्न दिने भनेको छ । एमालेका सांसदहरुले आज पनि सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै रोस्टम घेराउ गर्दै अवरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनको लागि वातावरण बनाउन पटक–पटक आग्रह गरे पनि एमालेले विरोध कायमै राखेको थियो ।

बैठकको सुरुमा सभामुखले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाए । त्यसपछि उनले राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए ।

त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिएका थिए ।

प्रतिनिधिसभाको बैठक ८ मिनेटमात्र बसेर यही असोज १९ गते मंगलबारसम्मको लागि स्थगित भएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार १४:२४ प्रकाशित