गण्डकीका सञ्चारमन्त्री थापाको आक्रोस् : ‘मलाई नसोधी चरित्र हत्या गर्न खोजियो’

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफुलाई मन्त्री न्युक्त गर्दा सञ्चार माध्यममले चरित्र हत्या गर्ने काम गरेको भन्दै आक्रोस् पोखेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम उद्घाटन कार्यक्रमलाई संबोधन गर्र्दै उनले यस्तो आक्रोस् पोखेका  हुन् । मुलधारका केही सञ्चार माध्यमको नाम लिँदै उनले मनगणन्ते ढंगले आफैले कल्पना गरेर सत्यलाई बंग्याउँदै आफ्नो चरित्र हत्या गर्ने काम गरेको आरोप लगाए ।

‘समाचार लेख्दा सरोकारवाला पक्षको भनाई के हो ? सत्यता के हो ? त्यो जाँच्ने काम गरिएन । म मन्त्री न्युक्त हुँदा मलाई समाचार लेख्ने कुनै पत्रकारले पनि एक पटक फोन गरेनन् । मनगणन्ते ढंगले कपोकल्पित ढंगले समाचार लेखियो । नेगेटिभ बढाउने खालका समाचार लेख्ने र व्यालेन्स नगर्ने चलन आजकल पत्रकारितामा बढ्दो छ’ उनले भने ।

नेपाली कांग्रेसमा तनहुँबाट निर्वाचित दोबाटे विश्वकर्मालाई मन्त्री बन्न रोकेर ब्यवासायी थापालाई मन्त्री बनाइएको भन्दै आलोचना भएको थियो । मन्त्री थापाले त्यही आलोचनाको विषयलाई लिएर गुनासो पोखेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशसभामा पेश भएको आम सञ्चार विधेयक पत्रकार मैत्री बनाएरै पास गर्ने र देशमै उत्कृष्ट विधेयक बनाउने समेत उक्त अवसरमा दाबी गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेशसभामा पेश आमसञ्चार विधेयक पत्रकारका लागि झुण्ड्याएर राखिएको तरबार सरह भन्दै तत्काल फिर्ता लिनुपर्ने बताए । उक्त विधेयक मानवअधिकार मैत्री दृष्टिकोणबाट समेत उचित नभएको र पत्रकारमात्र नभएर नागरिकका अधिकार समेत त्यसले कुण्ठित गर्ने धारणा राखे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले विधेयक यही अवस्थामा पारित गर्न नहुने भन्दै फिर्ता लिन आग्रह गरिन् । कार्यक्रममा पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुस्मा पौडेल, राष्ट्रिय मानवअधिकार अयोगका प्रवक्ता टिकाराम पोखरेल, मानवअधिकार आयोगका सदस्य लिली थापा र मानव अधिकार आयोग पोखराका अधिकृत ढंक खनाल लगायतले बोलेका थिए । प्रदेश भरबाट ३० जना सहभागी तालिम तीन दिनसम्म सञ्चालन हुने उक्त अवसरमा जानकारी दिइएको थियो ।

  • १३ आश्विन २०७८, बुधबार १७:०८ प्रकाशित