तनहुँ : दशैंमा बजार अनुगमन तीव्र र प्रभावकारी

केन्द्रभाग मिडिया

दमौली ।

चाडपर्व नजिकिएसँगै तनहुँमा बजार अनुगमन तीव्र र प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन प्रभावकारी बनाउने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा उद्योग वाणिज्य संघका पदाधिकारीसहितको बैठकले चाडपर्वमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य, असुली, मालसामानमा हुने गुणस्तरहीनता लगायतका विषयमा सूचना लिई आवश्यकताअनुसार स्थानीय तहसमेतको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको सहायक प्रजिअ चित्रांगत बरालले बताए ।

पसल, गोदामको सरसफाइमा ध्यान दिने एवं पसलमा मूल्यसूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टाँस गर्ने-गराउने बैठकले निर्णय गरेको छ । उनका अनुसार व्यवसायीले सरल मूल्यमा गुणस्तरीय सामग्री उपभोक्तालाई बिक्री गर्ने सहमति गरेका छन् । साथै उपभोक्ता हितका सन्देशसहितका प्रचार सामग्रीहरु स्थानीय तहसमेतको सहकार्यमा उद्योग वाणिज्य संघ र बजार इकाइहरुले उपभोक्तासम्म लैजाने निर्णय गरिएको छ ।

निषेधाज्ञा जारी

जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो ।

केन्द्रका संयोजक एवं प्रजिअ विश्वप्रकाश अर्यालले आज विज्ञप्ति जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म जिल्लाभर लागू गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को यही असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो आदेशलाई निरन्तरता दिइएको हो ।

आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

  • १३ आश्विन २०७८, बुधबार १३:३६ प्रकाशित