एजेन्सी ।
दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने तयारी भएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासुमा प्रतिबन्ध लगाउने बारे सोच्नुपर्ने भन्दै यसको तयारीबारे बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेको बताइएको छ ।
कुकुरलाई माया गर्ने स्वभावका राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो।दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन रहेको तर त्यसको मासु खान प्रतिबन्ध भने नरहेको बताइन्छ । बर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिन्छ।
तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन्।जसका कारण त्यहाँका तीन ठूला कुकुरको मासु केन्द्रहरू बन्द भइसकेका छन्।
सन् २०२० को एउटा सर्वेक्षणले ५९ प्रतिशत कोरियालीले कुकुरको मासु खान प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको थियो।














