आजदेखि देशैभर भेरोसेल खोप लगाईदैँ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सरकारले आजदेखि देशैभर भेरोसेल खोप लगाउने भएको छ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर लगाउन लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकले खोप लगाउन पाउनेछन् । यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ५५ जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप दिइनेछ ।

काभ्रे र चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिको खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइने छ । सबै जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।

खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान आग्रह गरिएको छ । परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ । आजदेखि सुरु खोप अभियान आउँदो १४ गतेसम्म चल्ने छ ।

  • ४ आश्विन २०७८, सोमबार १०:०३ प्रकाशित